म एक दिर्घ रोगी

एकदिन म यो संसार छोड्ने छु ,
छोड्न त तिम्ले पनि छोड्ने छौ।
फरक यति छ कि,
तिम्ले सहज रुपले छोड्न सक्छौ,
तर म तड्पि तड्पि छट्पटिँदै छोड्ने छु।
तिम्ले धेरै सपनाहरु पूरा गर्न सक्छौ,
तर मेरा सिमित रहरहरु पनि अँधुरा रहनेछन्।
“किनकि म एक दिर्घ रोगी हुँ।”
चक्कि र झोलको भरमा सास चल्छ मेरो।
विचरा मेरो आमा बा!
छोराको मजदुरमा रमाउनु पर्ने उमेरमा,
छोराकै लागि पसिना बगाउँदैछन्।
अनि मेरो समाज जहाँ तिमी जस्तै मानिसहरुको बस्ती छ।
कुरा काट्दै छन् मेरा बाको-
बिचरा हर्केले ,
ऋणको भारी बोक्ने भो।
आफ्नै छोराको दागबत्ती दिने भो।
यस्ता शब्दहरु सुनेर मेरा बा एक्लै भकानिनु हुन्छ,
अनि आउनुहुन्छ मेरो छेऊ अनि सुमसुम्याउनुहुन्छ मलाई।
जब यी पिढाहरु महशुस गर्छु अनि आँशुहरु रोकिन्छन् मेरा।
केही गर्नु छ भन्ने आत्मबल बढ्छ म भित्र।

शुरुवात गर्दै थिँए आफ्नो सफलताको,
तर आईदियो महामारीको रोग,
जसले मेरा सारा सपनाहरु भत्काईदियो।
बाटोहरु छेकिदियो।
दिनभर काम गरेर आउँने मेरा बालाई रोगले छिट्टै छोईदिएछ।
त्यसपछि समाजको तिरस्कार अनि तिमिजस्तै अमानवीयता भएका व्यक्तिहरुबाटै सुनियो-
दिर्घ रोगी र वृद्धहरु बाँच्दैनन् रे यो रोगबाट।
समाजको हल्लाबाट कमजोर भईसकेकि मेरी आमालाई
मेरो पोजेटिभ रिपोर्टले झनै कमजोर बनाईदियो।
म जितेर उदाहरण बन्छु भन्ने आत्मबलका साथ गएँ अनि सकुशल फर्किएँ पनि ।
तर विडम्बना मेरो घरमा खुशि छाएन।
समाजको गलत हल्ला र तिरस्कारको परिणाम-
“मेरी आमाले आत्महत्या गरिछिन्।”

यहीँ समाजको भारी बोकेर गुजारा चलाउने मेरो बा ।
लामो समयको बन्दले आम्दानीको श्रोत नै रोकिएर पिरको भारी बोकिरहेकाछन्।
तिमी र तिम्रो समाजले हामिजस्तालाई आएको सरकारको सहयोग नक्कली पिढित बनेर लुटिदिन्छौ।
रोगलाई जितेर आएपनि भोकको सामना गर्नु सक्नुभएन मेरा बाले।
मेरो सास अल्झाँउने चक्कि र झोल पनि सकिँदै थियो।
त्यसपछि बासँग भाको अन्तिम विकल्प बाले अपनाउनु भएछ।
मेरो आमालाई समाजको व्यवहारले मर्न बाध्य बनायो
अनि बालाई सरकारको गलत नितीले।
था छ अब थोरै समयमा तिमिहरुले मलाई पनि मार्ने छौ।महामारीले हैन तिमिहरुजस्ता नाममात्रैका शिक्षितका अमानवीयताबाट मृत्युदर बढ्दैछ।
यदि मृत्युदर कम नै गर्नु छ भने तिमी र तिमिजस्ता निरोगी ठान्नेहरुले विचार र व्यवहार परिवर्तन गर्नुपर्नेछ।
अनि सरकारले रोकथामको निति परिवर्तन गर्न जरुरी छ।
तथ्यांक हेर सरकार एकपटक,
-महामारीबाट मात्र कति मरिरहेका छन्?
-भोकमारीले कति मरिरहेका छन्?
-अनि गलत प्रचारले कति मरिरहेका छन्?

बिजय श्रेष्ठ
सुनकोशी गाउपालिका
कालिमाटी सिन्धुली