काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो ।

गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी  काठमाडाैँ उपत्यकालगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ । सरकारले अघिल्लो बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो ।

गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै, दुई सयभन्दा बढी सङ्क्रमित पाइएका जिल्लामा समेत बेलुका ९ बजेदेखि बिहान पाँच बजेसम्म आवागमन बन्द गरिने भएको छ । यस्तै, कोभिड–१९ को सङ्क्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्र/स्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोना परीक्षणको थप व्यवस्था गर्न समेत गृहले निर्देशन दिएको छ ।