काठमाडौँ । महिलाहरू कामकाजी तथा आफ्नो शारीरिक बनावट बिग्रन डरले हरेक वर्ष शिशुलाई स्तनपान गराउने सङ्ख्या घट्दो अवस्थामा छ ।
‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइरहेको बेला महिलाहरू भने शिशुलाई स्तनपान गराउनुपर्छ भन्ने चेतनासमेत नहुनु लाजमर्दो कुरा हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिहं तिनकरीले विगत १० वर्षको तुलनमा हाल स्तनपान गराउनको सङ्ख्या दिन प्रतिदिन घटिरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार स्तनपान गराउने दुई किसिमको हुन्छ । पहिलो जन्मेको एक घण्टाभित्र तथा दोस्रो छ महिनासम्म खुवाउन तर दुरभाग्यवस् यो दुवै घट्दो अवस्थामा छ ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको छ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो ।

सबैभन्दा कम बाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै छ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरूले शिशुलाई स्तनपान गराउने चलन घट्दैगएको पाइएको छ ।

यो सबै स्तनपान गराउनुपर्छ भनेर दिइन परामर्शको अभाव तथा बजारमा पाइन विभिन्न प्रकारको खाद्यपदार्थ कारणले कमी भएको निर्देशक डा तिनकरीले प्रष्ट पार्नुभयो । उहाँले बजारमा पाइने विभिन्न खाद्यपदार्थबारे ऐन नियम भएता पनि प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।

‘आमाहरू शिक्षित भएका छन् तर स्तनपानको विषयमा भने अशिक्षित नै छन्’, डा. तिनकरीले भन्नुभयो, ‘विद्यालयको पाठ्यक्रममा नै स्तनपानको महत्त्वबारे पढाइनुपर्छ ।’ उहाँले शल्यक्रियाबाट जन्म हुने शिशुको सङ्ख्या वृद्धिको कारण पनि स्तनपान गराउने कमी आएको बताउनुभयो ।

हाल ६३ प्रतिशले शल्यक्रिया गरेको तथ्याङ्क रहेको छ । अस्पतालका मेडिकल पर्सनले शल्यक्रिया गरे पनि स्तनपान गराउन पर्छ भन्ने परामर्श नदिएको कारण पनि घटेको उहाँले प्रष्ट पार्नुभयो ।
‘शिशु जन्म भइसकेपछि त्यसलाई पुग्ने दूध आमासँग भएकै हुन्छ,’ उहाँले दाबी गर्दे थप्नुभयो, ‘शिशुले जति बढी आमाको दूध तान्यो, त्यति नै बढी आउँछ, शल्यक्रिया गरिसेपछि पहिलोपटक नआउला तर दोस्रो र तेस्रोपटक तान्न लगायो भने बच्चालाई पुग्ने दूध आउँछ । त्यसैले स्तनपान गराउन तरिका र फाइदाबारे अस्पतालका नर्स वा डाक्टरले नै सिकाउनुपर्छ ।’

उहाँले कामकाजीको बहानामा शिशुलाई स्तनपान नगराउने गलत भएको धारणा व्यक्त गर्दे भन्नुभयो, ‘सरकारी तहबाट हाल सुत्केरी बिदा बढाएको ९० दिन गरिएको छ, त्यसैले आमाको प्रमुख दायित्व भनेको शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनु हो ।’

बाल विशेषज्ञ डा. जुनसिहं डगोल भन्नुहुन्छ, ‘छ महिनासम्म शिशुलाई आमाकै दूध खुवाउनुपर्छ । तर, ६ महिनापछि भने अन्य पौष्टिक खाना पनि खुवाउन थालिन्छ ।’

बालबालिकालाई सही मान्यतामा भने चार वर्षसम्म दूध खुवाउन सल्लाह दिँदै भन्नुहुन्छ, ‘अहिले धेरै जसो आमाहरू जागिरे हुने भएकोले चार वर्षसम्म स्तनपान गराउन कठिन हुन्छ । बच्चालाई दुई वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरूको शारीरिक तथा बौद्धिक विकास राम्रो हुनुका साथै बच्चा स्वस्थ्य रहन्छन् ।’

स्तनपानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपनालगायत रोगबाट बचाउने पनि उहाँले जानकारी दिनुभयो । आमाको दूधमा पाइने कोलस्ट्रम (बिगाैती) दूधमा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा शिशुलाई झाडापखाला र निमोनियाजस्ता घातक सङ्क्रमणबाट बच्न सकिने कारण पनि दुई वर्षसम्म अनिवार्य स्तनपान गराउनुपर्ने उहाँको सुझाव छ ।

आमाका लागि स्तनपान गराउनुका लाभ
‘स्तनपान गराउने महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहन्छ’, डा. तिनकरीले भन्नुभयो, ‘नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्धपदार्थ बिक्री वितरण गर्न नपाउने कानुन बनेको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन ।’

यता डा. डङ्गोलले भन्नुहुन्छ, ‘गर्भावस्थामा बढेको तौललाई कम गर्न स्तनपानले सहयोगी भूमिका खेल्ने गर्दछ । ओस्टियोपोरोसिस रोगको विकास हुने सम्भावना कम हुन्छ । स्तन, गर्भाशय क्यान्सरको सम्भावना पनि कम हुन्छ । बच्चासँगको आत्मीय सम्बन्ध विकास गराउँछ । स्तनपान गराएका बच्चाको मस्तिष्क विकास उत्कृष्ट हुन्छ र बुद्धि निकै तेज हुन्छ ।’

स्तनपान गराउन सहजीकरणको लागि महिला कार्यरत भएको निजी तथा सरकारी कार्यलयमा स्तनपान कक्षको सञ्चालन ल्याउन सफल भएपनि त्यस कक्षको सदुप्रयोग हुन नसकेको निर्देशक डा.तिनकरीको गुनासो छ ।

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा अगस्त १ तारिखदेखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । नेपाललगायत विश्वका १७० भन्दा बढी देशले एक हप्तासम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।गोरखापत्र अनलाइनबाट