काठमाडौँ  । समाजवादी पार्टीका सांसद सरिता गिरीलाई पार्टीले कारबाही गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले उनलाई सांसद र पार्टीबाट बर्खास्त गरेको छ । पार्टीका महासचिव रामसहाय यादवका अनुसार पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्नुको साथै पार्टीको साधारण सदस्यबाट पनि निस्काशन गरेको छ ।

सांसद गिरीको कारबाहीको बारेमा गठन भएको कार्यदलले उनलाई कारबाही गर्न गरेका सिफारिस अनुसार कारबाही भएको बताइएको छ । नयाँ नक्सा अनुसार निशान छाप परिमार्जन गर्न संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिन उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव दर्ता गराएकै दिन उनलाई सो पत्र फिर्ता लिन पार्टीले निर्देशन दिएको थियो । प्रस्ताव फिर्ता नलिए कारबाही गर्न बाध्य हुने पनि पत्रमा उल्लेख थियो तर सांसद गिरीले आफ्नो प्रस्ताव फिर्ता लिएनन । उल्टै गिरिले संविधान संशोधनका लागि भएको चुनावमा समेत अनुपस्थिति देखाएको थियो ।