काठमाडौँ । राजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेसँगै अत्याधुनिक बुद्ध पार्क बन्न मार्गप्रशस्त भएको हो ।
सरकारले २०३२ साल जेठ १४ गते जग्गा प्राप्ति ऐनअनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बने पनि मुुआब्जा विवादले काम अघि बढेको थिएन । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विवाद समाधान गरेर पार्क बनाइने बताउनुुभयो । उहाँले भन्नुभयो, “तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद अन्त्य गरेर पार्क बनाउने योजना अगाडि बढाइनेछ ।” “मुआब्जा विवाद सुल्झाउन प्रारम्भिक अधिकारी नै तोकेर काम सुुरु गरिएको छ”, उहाँले भन्नुभयो, “जतिसक्दो छिटो विवाद अन्त्य गरी पार्क निर्माणको काम अगाडि बढाइनेछ ।”गोरखापत्र दैनिकमा खबर छापिएको छ।