हेटौंडा—१४ की एक गर्भवतीले गर्भपरीक्षणका लागि स्वास्थ्यचौकी जान डर लागेको बताइन् । गर्भवती र सुत्केरीको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले कोरोना भाइरस मात्र होइन, जुनसकै रोग पनि चाँडै सर्ने गर्छ भन्ने उनलाई लागेको छ ।

हेटौंडा–१४ कै अर्की गर्भवतीलाई घाँटीको समस्या छ । उनी अस्पताल जान सकेकी छैनन् । अस्पतालमा कोरोना लाग्न सक्ने भएकाले जान डर लागेको उनले बताइन् । गर्भवती भएको बेलामा घरमै बसिरहनुपर्दा मानसिक चिन्ता पनि भएको उनले बताइन् ।

समयमा गर्भजाँच गर्न नपाउने र किनमेलमा कठिनाइ तथा आम्दानी नहुँदा पोषिलो खाना अभावलगायत समस्या झेल्न परेको उनीहरुको गुनासो छ ।

अस्पतालमा सामान्य अबस्थामा सुत्केरी गराएर घर पठाइएका महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो । जेठ १६ गते हेटौंडा–१ की गर्भवतीमा कोरोना भाइरस देखिएपछि यहाँका गर्भवती त्रसित छन् । गर्भवतीहरु गर्भपरीक्षण गराउन स्वास्थ्य संस्थामा कसरी जाने भनेर चिन्तित हुन थालेका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ।