लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका – ४, पुरानोकोट पिर्सिङ गाउँमा घरघरै धारा पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ । पानीका लागि समस्या भोग्दै आएका स्थानीय आफ्नै घरको दैलोनजिक पानीको धारा बनेपछि खुसी छन् । स्थानीयले घरघरमा पानी ल्याउनका लागि आफैँले श्रमदानसमेत गरेका छन् । आफ्नै दुःखले घरमा ल्याएको पानीले गाउँलेलाई सहज भएकाे छ । स्थानीय वृद्धा बिजमाया गुरुङले घरमै बनेको धाराबाट दैनिक कामकाज गर्न सहज भएको बताउनुभयो । ‘सबै कामका लागि पानी चाहिन्छ । यसअघि समूहमा धारा थियो । भनेको बेलामा पानी आउने थिएन । लाइन बस्नुपर्थ्याे’ उहाँले भन्नुभयो, ‘अहिले आफ्नै घरमा धारा छ । जति बेला चाहियो त्यति बेला गएर पानी भर्न पाइएको छ । भाँडा माझ्न, कपडा धुन, नुहाउन, गाईभैंसीलाई खुवाउन सबै काममा सजिलो भएको छ ।’

पिर्सिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनमाया गुरुङका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा खानेपानी आयोजनाको काम गरिएको हो । खानेपानीको धाराकाे समस्या भोग्दै आएका स्थानीयले अचेल आँगनमै रहेको धाराको पानी प्रयोग गर्ने गरेका छन् । ‘यसअघि खानेपानीको धारा ५-६ घरको बीचमा थियो । कुनै समय पानी नआउने, कहिले फोहोर पानी आउने गर्थ्यो । गाउँको बीचबाट सडक निर्माणको काम हुँदा पानीको पाइप फुट्थ्याे । तीन-चार दिनसम्म पनि पानी बनाउन सकिँदैनथ्यो’ उहाँले भन्नुभयो, ‘अहिले घरमै धारा बनेपछि सबै समस्या समाधान भएको छ । पानी आएपछि सबैलाई खुसी बनाएको छ ।’

समितिका सचिव इमानसिंह गुरुङका अनुसार १५ घरमा धारा जडान गरिएको छ । सामुदायिक भवनको अगाडि एउटा धारा बनाइएको छ । सामुदायिक भवनको शौचालयको आडैमा बेसिनसहितको तीन वटा धारा निर्माण गरिएका छन् । खानेपानी आयोजना बेँसीसहर नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को पाँच लाख बजेट र श्रमदान तीन लाख गरी ८ लाखमा निर्माण गरिएको हो ।
प्रत्येक घरमा मिटर जडान, पाइपलाइन खन्ने, पुर्नेलगायतको काम गरी एक घर बराबर ८ हजार श्रमदान भएको छ । गाउँदेखि १५० मिटर माथि पानीघट्टा भन्ने स्थानबाट पानी ल्याइएको छ । पिर्सिङ खानेपानी आयोजनाको उद्घाटन गर्दै बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानी नागरिकका लागि अति आवश्यकता भएकाले नगरपालिकाभित्रका सबै गाउँमा एक घर एक धाराको अभियान सञ्चालन गरेको बताउनुभयो । पानी जीवन भएकाले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

नगरपालिकाले नागरिकको आवश्यकता अनुसार काम गर्दैआएको समेत बताउनुभयो । पानीको प्रशस्त उपलब्धता भएका ठाउँका स्थानीयले कृषि उत्पादन गरी आयआर्जन वृद्धि गनुपर्ने उहाँको भनाइ थियो । बेँसीसहर नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले गाउँमा पानीको सुविधा भएसँगै परम्परागत शैलीको खेती प्रणालीभन्दा आधुनिक प्रणालीका खेती गर्नुपर्ने बताउनुभयो । उत्पादनमूलक क्षेत्रमा लागेर आत्मनिर्भर हुन अनुरोध गर्नुभयो ।गोरखापत्र अनलाइनबाट