काठमाडौं ।  कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अन्योलमा परेको एसईई परीक्षा सरकारले खारेज गरेको हो । मन्त्रिपरिषद्को बुधबारको बैठकले एसईई परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ ।

एसईई खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ । करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्ताव लग्नु भएकाे थियो । मन्त्री पोखरेलले गर्नु भएको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।

गएको चैत ६ गतेदेखि शुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस संक्रमण र लकडाउनको कारण अचानक स्थगित भएको थियो । सरकारले जाँच शुरु हुनु अघिल्लो साँझ परीक्षा अनिश्चितकलको लागि रद्ध गर्ने निर्णय गरेको थियो  ।

यस वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थीले एसईई दिने तयारी गरेका थिए । त्यसको लागि १ हजार ९ सय ९७ परीक्षा केन्द्र तोकिएको थियो । परीक्षाको लागि प्रश्नपत्र सबै केन्द्रमा पुर्याइएको थियो । परीक्षा अचानक स्थगित भएपछि प्रश्नपत्र केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।