काठमाडौं । यो संकट नआइदिएको भए पिम्बातेन्जिङ भोटे यो समय सगरमाथाको चुचुरोतिर उक्लिरहेका हुन्थे, या सफल आरोहणपछि आफ्नो टोलीलाई काठमाडौं फर्काउँदै गरेका भेटिन्थे । विदेशी पर्वतारोहीलाई साथमा लिएर नेपालका हिमाल चहारिहिँड्ने यी अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक घरबाटै ननिस्किएको तीन महिना हुन लाग्यो । नेपालमा उनीजस्तै ७० जना विज्ञ अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक छन् । र, अहिले उनीहरू सबै घर-घरमै कैद छ।

हरेक वर्ष मार्चदेखि मेसम्मलाई आठ हजार मिटरमाथिका हिमाल आरोहणको उपयुक्त समय मानिन्छ । सगरमाथा आरोहणको मुख्य ‘सिजन’ नै यही हो । हिमाललाई कर्मथलो बनाएकाहरू व्यस्त रहने समय पनि यिनै तीन महिना हुन् । यही सिजनमा उनीहरूले वर्षभरि पुग्ने कमाइ गर्थे । हिमालतिर उकालो लाग्नुपर्ने वेलामा कोरोना भाइरस फैलियो । र, नेपालले पनि २४ मार्च (११ चैत)मा देशव्यापी लकडाउन घोषणा गर्‍यो । त्यसैले यस वर्षको आरोहण सिजन होम क्वारेन्टाइनमै बित्यो नयाँ पत्रीका दैनिकले खबर छापेको छ।