काठमाडौं । छाउनीस्थित नेपाली सेनाको महावीर गण (रेञ्जर) परिषरमा कार्यालय रहेको क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी)ले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने सावधानी, विदेशबाट आउने नेपाली नागरिकहरूको व्यवस्थापनबारे कार्ययोजना बनाइ प्रधानमन्त्रीलाई दिएको छ। उक्त कार्यायोजनामा के छ भन्ने विषय भने गोप्य राखिएको छ।

उक्त कार्यायोजनालाई मन्त्रिपरिषद्ले स्विकृती दिएपछि कार्यान्वयनमा आउने छ। भारत र अन्य मुलुकबाट नेपालीहरूलाई व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिने तयारीसमेत रहेको रक्षा मन्त्रालय स्रोतले बताएको छ।

विदेशबाट फर्किएका नेपालीहरूलाई ल्याउने र उनीहरूको व्यवस्थापन गर्न सरकारले नेपाली सेनालाई जिम्मा दिने तयारी गरेको छ। यद्दपी, सरकार त्यसबारे छलफलकै क्रममा छ। प्रधानमन्त्री केपी ओलीले पनि कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न नेपाली सेनालाई अग्रपंक्तिमा राख्न चाहेको स्रोतले बताएको छ।

विदेशबाट फर्कन चाहने नेपालीहरूको संख्या धेरै हुने भएकाले उनीहरूलाई अनुशासित ढंगले क्वारेन्टाइनमा राख्न र सम्बन्धित जिल्ला पु¥याउन नेपाली सेनाले मात्र सक्ने सरकारको बुझाइ रहेको छ। अन्नपूर्ण पोष्ट् दैनिकबाट ।