काठमाडौं । टोकियो ओलम्पिक सन् २०२१ मा आयोजना गर्न नसकिए रद्द हुन सक्ने सम्भावना अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी) का अध्यक्ष थोमस बाचले व्यक्त गरिरहेका छन् । त्यसका बाबजुद नेपालका १२ जना खेलाडी घरकै सेरोफेरोमा ओलम्पिक छनोट खेल्ने तयारीमा जुटेका छन् । उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)को छात्रवृत्ति प्राप्त छ । आर्चरी, सुटिङ, पौडी, जुडो, कराते र भारोत्तोलनका ती खेलाडी ओलम्पिकमा छनोट हुन मिहिनेत गरिरहेका छन् ।

‘प्रशिक्षणस्थल र घरमा अभ्यास गर्नुमा धेरै फरक छ,’ आर्चरीकी ज्ञानु अवाले भन्छिन्, ‘तर, हामीले आफूलाई मानसिक रूपमा बलियो बनाउन सक्यौँ भने पछि खासै फरक पर्दैन ।’ प्रशिक्षणस्थलमा भएको भए उनले ७० मिटरको दूरीमा अभ्यास गर्न पाउँथिन् । घरमा भने १० मिटरको दूरी बनाएर अभ्यास गरिरहेकी छिन् । आफूलाई फिट राख्न पुस–अप र ब्याडमिन्टन खेलिरहेकी छिन्।

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा करातेतर्फ स्वर्णपदक विजेता अनु अधिकारी पनि घरभित्रको प्रशिक्षण प्रभावकारी भएको बताउँछिन् । युट्युब हेर्ने र प्रशिक्षकसँग फोनमै टिप्स लिँदै अभ्यास गरिरहेकी छिन् उनी । लकडाउन धेरै नलम्बिने उनको अनुमान थियो । ‘अब भने अत्यास लाग्न थालेको छ । सबैको लेभल शून्यमा झर्ने डर छ,’ ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गर्ने उनी भन्छिन्, ‘त्यसैले आफूलाई फिट राखिराख्न घरभित्रै अभ्यासको विकल्प छैन ।’

१३औँ सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक विजेता वीरबहादुर महर पनि ओलम्पिक छनोट खेल्ने तयारी घरभित्रै गरिरहेका छन् । यो अभ्यास पर्याप्त नभएको पनि उनले नबुझेका होइनन् । भन्छन्, ‘ओलम्पिकजस्तो प्रतियोगिताका लागि घरमै सेल्फ प्रशिक्षण गर्न बाध्य छु । प्रशिक्षण केन्द्रमा अभ्यास गर्न पाउँदा नयाँ टेक्निक सिक्ने र गल्ती सच्याउने मौका मिल्थ्यो । तर, घरमा त्यस्तो केही हुँदैन ।’ ६८ किलोभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा गर्ने उनी घरमै रहँदा शरीरको वजन बढ्नेमा चिन्तित छन् । ‘निश्चित तौल समूहमा खेल्ने खेलाडीको तौल घटबढ हुँदा धेरै समस्या हुन्छ,’ उनी भन्छन् ।

सुटिङकी सुष्मिता नेपाल खेलको प्रकृतिअनुसार ‘कन्सन्ट्रेसन’मा जोड दिइरहेकी छिन् । नियमित योग र ध्यान गर्छिन् । सुटिङ खेल्ने राइफल किट्स सातदोबाटोको सुटिङ रेन्जमा छन्, घरमा उनी बोतललाई निशाना बनाइरहेकी छिन् । ‘किट्स उपलब्ध नहुँदाको बाध्यता हो यो,’ उनी भन्छिन् ।

जुडोका इन्द्रबहादुर श्रेष्ठ भने नेपाल पुलिस क्लबका खेलाडी हुन् । उनी साँझ–बिहान महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान पुग्छन् । उनले प्रशिक्षकहरूको पनि साथ पाइरहेका छन् । भन्छन्, ‘भौतिक दूरी बनाएर अभ्यास गरिरहेको छु ।’ ६६ किलो तौलमुनि प्रतिस्पर्धा गर्ने उनले तौल बढ्न नदिन खानपिनमा ध्यान दिएका छन् ।

१३औँ सागमा नेपाललाई पौडीमा व्यक्तिगत चार स्वर्ण र दुई रजत दिलाएकी गौरिका सिंह बेलायतको लन्डनमा छिन् । त्यहाँ लकडाउन भएयता उनी घरमै शारीरिक अभ्यास गर्दै आफूलाई फिट राख्ने प्रयासमा छिन् । नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ खेलाडीको घरभित्रको प्रशिक्षण पर्याप्त नभएको बताउँछन् । भन्छन्, ‘ओलम्पिकजस्तो प्रतियोगिताको तयारी गरिरहेका खेलाडीले बाहिर आएरै प्रशिक्षण गर्नुपर्छ, यसका लागि सम्बन्धित निकायले छिट्टै समाधान निकाल्नु जरुरी छ ।’नयाँ पत्रीका दैनिकबाट