काठमाडौं । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुलुक लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा खेलकुद गतिविधि ठप्प छ । लकडाउनले गर्दा खेल क्षेत्र मात्र नभई दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिलाई सबैभन्दा धेरै प्रभाव परेको छ । बिहान–बेलुका मजदुरी गरी एकछाक खान बल्ल–बल्ल पुग्नेहरू यतिबेला भोको पेट बस्न बाध्य छन् । तिनै समस्यमा परेकाहरूलाई सहयोग गर्न यतिबेला अधिकांश खेलाडी अग्रसर भएका छन् । खेलाडीहरू संकटमा परेकाहरूको सहयोगमा सक्रिय छन् ।

सहयोगका लागि सागमा दोहारो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठले वृद्धाआश्रम, बालआश्रम र सडकमा हिँडने यात्रुका लागि खान तथा यातायातको व्यवस्थापन मिलाएका छन् ।

आरम्भमा आफ्नै खर्चमा सहयोग गर्न जुटेका श्रेष्ठलाई अहिले जनता क्लब काठमाडौं र रोटरी क्लब काठमाडौंले सहकार्य गरेको छ । क्लबले खाद्यान्नदेखि विभिन्न सामग्री उपलब्ध गराउँदै आएको छ । उनीहरूले लामो दूरीको यात्रामा हिँडेकालाई बाटो खाजाको व्यवस्था पनि मिलाइदिएका छन् । श्रेष्ठले आफ्नै गाडी परिचालन गरी राहत वितरण गरिरहेका छन् । उनले निजी खर्चमा मास्क, स्यानिटाइजरलगायत थुप्रै सामग्रीहरू उपत्यकाबाहिर पठाइसकेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले कोरोनाविरुद्ध लड्न व्यक्तिगत एक लाख रुपैयाँ राहत कोषमा सहयोग गरेका छन् । उसुका किरन साउदले पनि सहयोग गरेका छन् । उनले १३औं सागमा कास्य पदकबापत सरकारले दिएको तीन लाख रुपैयाँबाट ५० हजार मजदुरलाई सहयोग गरेका हुन् ।

टेबलटेनिस खेलाडी एलिना महर्जनले साग प्रतियोगितामा पदक जितेबापत पाएको पुरस्कारको आधा रकम सहयोग गरेकी छन् । उनले समस्यामा परेका दुई सय परिवारलाई खाद्यान्न वितरण गरिन् ।
नेपाल प्रहरी क्लबबाट खेल्दै आएकी उनले एक लाख रुपैयाँबराबरको खाद्यान्न किन्दै प्रत्येक परिवारलाई ५ किलो चामल, १ किलो दाल, १ किलो चिउरा, १ प्याकेट नुन र १ प्याकेट तेलका दरले काठमाडौं महानगरपालिका १७ का दुई सय विपन्न परिवारलाई शुक्रबार राहत बाँडेकी हुन् ।

करातेतर्फ सागमा स्वर्ण विजेता खेलाडी अनु अधिकारीले अशक्तहरूको समूहलाई सहयोग गरेकी छन् । उनले संकटमा परेकाहरूलाई घर–घरै पुगेर सहयोग गरिरहेकी छिन् ।

अन्य थुप्रै खेलाडीले धार्मिकस्थल र अन्य स्थानमा रहेका पशुपक्षी तथा साधुसन्तलाई सहयोग गर्दै आएका छन् । यो अभियानमा सागमा स्वर्ण विजेता तेक्वान्दो खेलाडी संगीता बस्यालले थापाथलीमा रहेका योगिनाथ बाबाहरूलाई र कीर्तिपुरस्थित दृष्टिविहीनलाई सहयोग गरिरहेकी छन् । करातेतर्फ स्वर्ण विजेता कुुसुम खड्काले पनि पशुपति र स्वयम्भूमा रहेका बाँदर र परेवालाई आहारा खुवाएकी थिइन् ।