काठमाडौं । सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध जारी राखेको छ । नेपालमा संक्रमण नियन्त्रणबाहिर नगएमा जेठ १९ पछि सरकारले पहिलो चरणमा चीनबाट अन्तर्राष्ट्रिय उडान खुला गर्ने तयारी गरेको छ । त्यस्तै, विदेशी पर्यटकमाथिको प्रतिबन्ध पनि पहिलो चरणमा चिनियाँ पर्यटकलाई खुला गर्ने तयारी गरिएको छ ।

सरकारले बन्द भएको अन्तर्राष्ट्रिय उडान र विदेशी पर्यटकमाथिको प्रतिबन्ध चीनबाट खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमण फैलिन सक्ने भन्दै ४७ दिनअघि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेको थियो । सरकारले जेठ १९ पछि अन्तर्राष्ट्रिय उडान आंशिक खोल्दै जाने र पहिलो चरणमा चीनमा अन्तर्राष्ट्रिय उडान खोेल्ने तयारी थालेको छ ।

चीनले कोरोना भाइरस नियन्त्रणमा आएको घोषणा गरिसकेको छ । भाइरस फैलिएको मुख्य सहर वुहानसमेत चीनले खुला गरेर आर्थिक गतिविधि सुचारु गर्न थालेको छ । सोही कारण नेपालमा संक्रमण नियन्त्रणबाहिर नगए पहिलो चरणमा चीनमा उडान सुरु गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कहाँबाट कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न निर्देशन दिएको छ । सोहीअनुसार मन्त्रालय र नागरिक उड्डयन प्राधिकरण नेतृत्वको टोलीले स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग छलफल जारी राखेको छ ।

‘प्राधिकरण, पर्यटन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको छलफलमा जेठ १९ यता अन्तर्राष्ट्रिय उडान नखोल्ने र त्यसपछि चीनबाट उडान खोल्ने गरी काम अगाडि बढाइएको छ,’ मन्त्रालय स्रोतले भन्यो । भारतमा तत्काल उडान नखोल्ने, तर चीनबाट उडान सुचारु गर्ने गरी काम अगाडि बढाइएको मन्त्रालय स्रोतको भनाइ छ । चीनपछि अवस्था हेरेर दक्षिण कोरिया उडान सुचारु गर्ने तयारी सरकारको छ ।

खाडी मुलुकमा संक्रमण फैलिएकाले तत्काल उडान सुचारु नगर्ने सरकारले योजना बनाएको छ । खाडी मुलुकमा नेपाली अलपत्र परेमा भने चार्टर्ड उडान गर्नेछ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुुसार जेठ १९ यता अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको, तर त्यसपछि प्राथमिकता र संक्रमण हेरेर खोल्दै जान छलफल भइरहेको छ । चीनमा नियन्त्रणमा आएकाले त्यहीँबाटै उडान सुरु हुन सक्नेसमेत पोखरेलले बताए ।

चीनका विभिन्न सहरबाट नेपालमा सातामा ५६ वटा उडान हुने गरेका थिए । चीनबाट चाइना इस्टर्नको सातामा ११, त्यस्तै चाइना साउदनको साताको १४ वटा उडान हुने गरेको थियो । चीनका तिब्बती एयरलाइन्स, सिचुवान एयरलाइन्स, चाइना इस्टर्न, चाइना साउदन, एयर चाइनाले नेपालमा उडान गर्ने गरेका छन् । यता नेपालबाट हिमालय एयरलाइन्सले उडान गर्दै आएको छ । नयाँ पत्रीका दैनिक बाट