काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा आज बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ मा निर्वाचन परिचालनका लागि जिम्मेवारी तोक्दै ७ प्रदेशमा कमाण्डर खटाउने र उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकसँग उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको छ ।
जसअनुसार कोशी प्रदेशमा निशा डाँगी, मधेसमा डा चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिममा विष्णु कुमार श्रेष्ठलाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा कमाण्डरको रूपमा खटाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा छन् । कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा रहेका रवि बिनानै रास्वपा उपनिर्वाचनमा होमिएको हो । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा देशभर ४४ स्थान रिक्त छन् । तीमध्ये २ जिल्ला समन्वय समितिबाहेक अन्यन्त्र उम्म्ोदवारी दिने रास्वपाको तयारी छ । स्थानीय तहमा रास्वपाको यो पहिलो चुनावी यात्रा हो ।
रास्वपाका तर्फबाट स्थानीय तहमा उम्मेदवारी दिने उम्मेदवार चयन गर्न केन्द्रीय निर्वाचन संयोजन समितिले प्रारम्भिक निर्वाचन सञ्चालन गर्ने कार्यतालिका तय गरेको छ ।