काठमाडौं । नेपालले हङकङ सिक्सेसमा दोस्रो जित हात पारेको छ। शनिबार बिहान सम्पन्न पहिलो खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा पाँच विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो । नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए। लोकेश बम र विवेक यादवले एक/एक विकेट हात पारे। अस्ट्रेलियाका ज्याक उडले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए।
त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँददै १११ रन बनाएको थियो। नेपालका कप्तान सन्दीप जोराले १६ बलमा ५१ रन बनाए। यस्तै, लोकेशले १३ बलमा ३३ रन जोडे। विवेक १२ रनमा आउट हुँदा राशिद खान १२ रनमा अविजित रहे।
नेपालले यसअघि इङ्ल्यान्डलाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै क्वार्टरफाइनलमा स्थान बनाइसकेको थियो।