भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ ।विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रो पटक जिब्रो छेडेका छन्  । सुजनले गतबर्षदेखि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् ।

कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नाईके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौँ मानिसहरूकै अगाडि जिब्रो छेड्ने परम्परा रहेको छ ।

कर्मीनाईकेले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको फलामको सुइरोले हजारौँ मानिसहरूकै अगाडि वागश्रेष्ठको सुजनको जिब्रो छेडिदिए ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बस्नु पर्दछ ।
जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोलटोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने गर्दछ ।

महालक्ष्मी मन्दिरमा  परिक्रमा समापन गरेपछि  जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा रहेको छ । उक्त माटो राखेपछि जिब्रो छेड्दा लागेको घाउ ३ , ४ दिनमै निको हुने जनविश्वास रहँदै आएको छ । जसअनुसार उक्त प्रचलनले अहिलेसम्म निरन्तरता पाउँदै आएको हो

 

सवारी चालक सुजन यस अघि आठौं पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। सुजनले परम्परा र संस्कृतिलाई निरन्तरता दिन र बुबा बुद्धकृष्णबाट प्रेरणा लिएर  जिब्रो छेडेको बताए ।

बिस्काः जात्राको अवसरमा मध्यपुर थिमिको बोडेमा मौलिक शैलीको जिब्रो छेड्ने जात्रा सञ्चालन हुँदैं आइरहेको छ ।जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा रहेको छ ।

बुद्धकृष्णले पहिलो पटक २०६२ साल जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाए । २०६६ सालमा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाई बासँ श्रेष्ठले जिब्रो छेडाए ।

जुजुभाईले २०६५ देखि २०७२ सम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । २०७३ सालमा जुजुभाईका श्रीमती र भाउजू दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

जात्राको हालसम्म प्राप्त प्रमाण अनुसार १२ जनाले १०६ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ । विसं १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँश्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हायश्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन पटक, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई पटक जिब्रो छेडाएको तथ्यांक छ ।

त्यस्तै २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले, २०४८ मा धर्मराज बलाय श्रेष्ठले, २०४९ देखि २०६० सम्म १२ पटक कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडाएको इतिहास रहेको छ ।
मध्यपुर थिमि नगरपालिका ८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा प्रत्येक वर्ष वैशाख २ गते हजारौँ भक्तजनको सामुन्ने जिब्रो छेडिँदै आएको छ ।नेपाल समाचारपत्र बाट