काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको  व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने उद्घोष गरेका छन् ।  अध्यक्ष  साहले देशमा अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको र केही मुठ्ठीभरका नेताले शासन गरेको टिप्पणी गरेका छन् । उनले आफ्नो दलले जनताको पक्षमा दृढताका साथ कदम चालेको र अब दलतन्त्र र लुटकारी व्यवस्थाविरुद्ध निर्णायक आन्दोलन गर्ने जनाए ।

नयाँ वर्ष २०८१ सालको अवसरमा बारामा आयोजित कार्यक्रममा बोल्दै साहले  देश दिनानुदिन आर्थिक हिसाबले पनि धराशयी बनेको र लुट मच्चाउनेहरुमात्रै रातारात मालमाल बनेको दाबी गरे ।

बारागढ़ी गाऊँपालिकाको करैया, गढ़ीमाई नगरपालिकाको सिमरा, सुवर्ण गाऊँपालिकाको औरैया, देवताल गाऊँपालिकाको पिप्राढी र पचरौता नगरपालिकाको पिपरपातीलगायतका गाऊमा सम्पन्न कार्यक्रममा सहभागीहरुले धोकेबाज नेता एवं लुटकारी ब्यवस्थाको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरेको आजापाले जनाएको छ ।

कार्यक्रममा आजपा उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहालगायत नेताहरुको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदानप्रदानको साथै आफ्नो भनाई राखेका थिए ।