काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्दैछन्।
साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए। बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा फागुन १० गतेसम्म जारी रहनेछ ।