राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । परम्परागत पार्टीहरुले विचार र व्यबहारमा जनतामैत्री हुन नसक्दा आम जनतामा निराशा छाएको छ । अर्थतन्त्रमा आइरहेको संकटले काम गर्ने सक्ने जनशक्तिको पलायन दिनानुदिन बढिरहेको छ । कृषिप्रधान मुलकमा कृषि गुजारामुखी भएको छ । अर्थशास्त्रीय ब्याख्या अनुसार गुजारामुखी अर्थतन्त्रको खास परिभाषा हुँदैन । उत्पादक शक्ति कमजोर हुँदा राष्ट्रिय उत्पादनले प्रगति गर्दैन । उत्पादन नहुदा जनताको दैनिक जीवनमा प्रभाव पर्छ , जनताको निराशा छाउँछ । निराश जनताले राजनीतिक नेतृत्वप्रति वितृष्णा व्यक्त गर्छन । यहीँ वितृष्णाले वालेन शाह जन्मिए , हर्क साङपाङ जन्मिए , रवि लामिछाने जन्मिए , राष्ट्रिय स्वतन्त्र पार्टी जन्मियो । तराईमा सिके राउत र रेशम चौधरीहरुको शक्ति मजबुत भयो ।
पुराना शक्तिहरुको पतन र नयाँ शक्तिहरु उदयले नेपाली समाजमा एकखालको उत्साहको वातावरण पैदा गरेको गर्छ । यी शक्ति पनि पुरानै ढाचामा बदलिदा जनतामा निराशा छाउछ । हाम्रो जस्तो विकास उन्मुख देशमा नायकको खोजी निरन्तर भइरहेको छ । दु:ख निवारण गर्ने शक्तिको खोजी हुनु सकारात्मक कुरा हो । तर दु:ख निवारकहरू आफैं दु:ख प्रदायकमा बदलिनु नविन दृष्टान्त भने होइन । नेपाली समाजले यो निरन्तर भोग्दै आएको छ ।
नयाँ वैकल्पिक शक्तिले जनताको दु:ख सुख बुझ्नु । नेपाली समाजको परिवर्तनको तृष्णालाई पुरा गरून् । आम जनताले चाहेको नयाँ नेपालको सपना पुरा होस । शुभकामना ।