काठमाडौं । यही ४ चैतमा हुने कार्यसमिति निर्वाचनका लागि नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा यतिबेला दुई जना कलाकार रेजिना उप्रेती र मोहन निरौलाले उम्मेदवारी दिएका छन् । जसमध्ये अभिनेत्री रेजिना उप्रेतीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल नै घोषणा गरेकी छन् ।
विभिन्न ११ वटा शीर्षकमा ३० वटा योजनासहितको घोषणापत्र सार्वजनिक गर्दै उनले आफ्नो प्यानललाई कार्यक्रममा चिनाइन् । रेजिना अध्यक्षको उम्मेदवार रहेको यो प्यानलतर्फ दुई उपाध्यक्ष उम्मेदवारमा शिवहरि नेपाल ‘वैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी, महासचिवको उम्मेदवारमा पनाह अधिकारी, सचिवको उम्मेदवारमा जीवन थापा र कोषाध्यक्षको उम्मेदवारमा विनोदकुमार भट्टराई रहेका छन् ।
यस्तै, रेजिनाको समूहबाट कार्यसमिति सदस्यको उम्मेदवारमा रञ्जना खड्का (खुस्बु), नितु कोइराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डीबी) ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, राजकुमार कार्की, खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), लक्ष्मण चौलागाई (खिम्तेकाका), राजेश गोसार्इं रहेको पनि अभिनेत्री रेजिनाले कार्यक्रममा बताइन् ।
सोही कार्यक्रममा अभिनेता रमेश उप्रेतीसहित विभिन्न कलाकारले रेजिनाको समूहलाई समर्थन गर्दै उनको टिमलाई जिताउन आफ्नो भनाइ राखेका थिए ।
अभिनेत्री रेजिनाले दुईपटक संघको उपाध्यक्ष भइसकेका कारण यसपटक अध्यक्षमा उठेको बताइन् । आपूmहरूले सार्वजनिक गरेको ३० वटा योजनालाई तीन वर्षभित्र पूर्ण गर्ने पनि उनले जिकिर गरिन् ।
कार्यक्रममा सो समूहका उपाध्यक्षका उम्मेदवारद्वय शिवहरि नेपाल वैरागी, सरिता गिरी, महासचिवकी उम्मेदवार पनाह अधिकारी, सचिवका उम्मेदवार जीवन थापा र कोषाध्यक्षका उम्मेदवार विनोदकुमार भट्टराईले पनि आफ्नो भनाइ राखे ।