तिमीलाई भगवान मानेर बारम्बार मैले
आफूलाई पटकपटक दास बनाइसकेँ
तिम्रो चरणमा हरदिन पूजा गरेर मैले
आफ्नो घरको भकारी रित्तो बनाइसकें
न तिमी भगवान बन्न सक्यौ
न गराउन सक्यौ भगवानको आभास मलाई
तिमी त केबल निर्दोष मान्छेहरूको
तथाकथित बलि थाप्दै
कोपानेक मिसाइलजस्तै बनेर आयौ र
बन्यौ मेरो यातनाको कारण !

मान्दिनँ अब तिमीलाई भगवान
बन्दिनँ तिम्रो दास
गर्दिनँ तिम्रो पूजा
चढाउँदिन विश्वासको भकारी
चाहिदैन तिम्रो खोक्रो आशिर्वाद
र चढ्न दिन्न तिम्रो चरणमा बलि ।

उखेल्नेछु तिम्रो मूर्ति
ढाल्नेछु तिम्रो यातनाको धरहरा
रोप्नेछु त्यागको मूर्ति
बाल्नेछु विश्वासको दियो
र फहराउनेछु मुक्तिको झण्डा !