काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको बताएका छन् । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
‘‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘यहाँ बसोबास गर्ने सबै जाति जातजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’’
‘‘ल्हो को अर्थ साल, सम्वत्, वर्ष, उमेर र छारको अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो। यो परम्परामा विभिन्न बाह्र वटा पशुपंछीको नामबाट १२ ल्होको नाम राखिएको हुन्छ र बाह्र वर्षको चक्र बनाइन्छ’’ उनले भने, ‘‘बाह्र ल्हो मध्ये प्रत्येक वर्ष एक–एकवटा ल्हो फेरिन्छ। ल्हा (वर्ष) सँग खाम (पाँच तत्त्व) हरू-आगो, पानी, माटो, फलाम, काठ, सँग जोडिएका हुन्छन्। यही ल्हो फेरिने दिनलाई तामाङ समुदायले ल्होछार पर्वको रुपमा मान्दै आएका छन्।