काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सबै विद्यालयलाई मंगलबार परिपत्र गर्दै स्वीकृतिबिना कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको गुनासोका आधारमा पूर्व स्वीकृति बिना प्रवेश नगराउन परिपत्र गरिएको हो ।

विद्यालयले काठमाडौं महानगरपालिका, शिक्षा विभागको पूर्वस्वीकृति बेगर कसैलाई पनि विद्यालयमा प्रवेश नगराउन र कसैलाई आमन्त्रण गर्नैपर्ने भएमा विभागलाई पूर्वजानकारी गराउन निर्देशन दिइएको छ ।