नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री खापुङले भने, “सरकारले यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउने भनिसकेको छ । सबै नेपालीले निर्धारित समयभित्र खोप लगाउन पाउँछन् । अहिले पनि नियमित रुपमा डेढ लाखदेखि दुई लाख जनाले खोप लगाइरहेका छन् । फ्रन्ट लाइनर, वयोवृद्ध, बिरामीलाई दिइसकेको छ । बाँकी सबैलाई स्थानीय तहमै खोप लगाउने कार्यक्रम रफ्तारमा गइरहेको छ ।”
कोरोनाभाइरसको नयाा भेरियन्ट ओमिक्रोनबाट आत्तिनु नपर्ने पनि उनले बताए । उनले थपे, “यो नयाँ भेरियन्ट हो । तर यसबाट एक जना पनि मरेको तथ्यांक छैन । विश्व स्वास्थ्य संगठनले सचेत गराउने हो, स्वास्थ्य वैज्ञानिकहरुले उपचार पत्ता लगाउने हुन् । त्यसकारण यसबाट धेरै आतंकित हुनुपर्दैन, तर स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।”
केपी ओलीले त तपाईंको पार्टी नेकपा (एकीकृत समाजवादी) का सबै जिल्ला कमिटी एक वर्षभित्र एमालेमा विलय हुन्छ भन्नुभएको छ नि भन्ने प्रश्नमा राज्यमन्त्री खापुङले भने, “केपीले एकीकृत समाजवादीको भविष्य निर्धारण गर्ने होइन । नेपाली जनताले दिएको दुई तिहाइ बहुमत तीन चिरा भएको छ । आफ्नै कारण संघीय सरकार गुम्यो, प्रदेश सरकार गुमे । अझै ठूलै गफ दिइरहनुभएको छ । अब यो वा त्यो गफ नगर्दा हुन्छ ।”